बुटवल, ७ चैत । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई मृत्युदण्ड दिईएको छ ।
निर्भयाको सामुहिक बलात्कार घटनामा संलग्न पवन गुप्ता, विनय शर्मा, अक्षय कुमार सिंह र मुकेश सिंहलाई एकसाथ फाँसी दिईएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय समयअनुसार शुक्रबार बिहान ५ः३० बजे दिल्लीको तिहाड जेलमा उनीहरुलाई मृत्युदण्ड दिईएको हो ।
सन् २०१२ डिसेम्बर १६ तारिक राती भारतको राजधानी नयाँ दिल्लीमा बसमा यात्रा गरिरहेकी निर्भयामाथि यी चार सहित ६ जनाले बसभित्रै सामूहिक बलात्कार गरेका थिए ।
निर्भयामाथि भएको सामुहिक बलात्कार आरोपमा भारतको अदालतले उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो । तर, अदालतले फाँसी दिन दिएको आदेश विरुद्ध उनीहरुले भारतको सर्वोच्च अदालतमा अपिल गरेका कारण उनीहरुमाथिको सजाय टर्दै आएको थियो । सर्बोच्च अदालतले आममाफी दिन नसकिने फैसला गरेसंगै चारै जनालाई शुक्रबार मृत्युदण्ड दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोही घटनामा संलग्न भनिएका अर्का दोषी राम सिंहले मुद्दाकै क्रममा जेल भित्रै आत्महत्या गरेका थिए भने अर्का एक आरोपी अपराध गर्दाका बखत नाबालिग भएकाकारण सुधारगृहमा पठाइएको थियो ।
निर्भयाको २०१२ डिसेम्बर २९ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । निर्भयामाथि भएको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भएको थियो ।