बुटवल २८ फागुन
मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणका लागि प्रदेश पाँच सरकारले १० करोडको लागतमा बिशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो उपकरण सहितको दक्ष जनशक्तियुक्त बनाउनका लागि बिशेष कार्यक्रम सुरु गरेको हो ।
सामाजिक बिकास मन्त्रालयले बुधबार आयोजना गरेकोे पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनकालागि संघीय सरकारले प्रदान गरेको १० करोड बिशेष अनुदान रकमबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीकालागि एसबिए तालिम, मेडिकल अफिसरकाकालागि एड्भान्स तालिम, ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरिने जानकारी गराउनु भयो । त्यस्तै म्याटनल डेलीभरी, वेवी वार्मर, सब्सन मेसिन सहित प्रसुती हुँदा तथा प्रसुती भईसकेपछि आमा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने २६ प्रकारका ईक्युपमेन्ट ग्रामिण क्षेत्रका वर्थिङ् सेन्टरलाई उपलब्ध गराईने उहाँले जानकारी गराउनु भयो ।
स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक डा. महेश्वर श्रेष्ठका अनुसार प्रदेशमा स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको संख्या ५७ प्रतिशत रहेको छ । त्यस्तै किशोरावस्थामै गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको छ । संस्थागत प्रसुतीलाई बढाउने र मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो ।
कर्मचारी समायोजन अंगाडी प्रदेश पाँचमा झण्डै १ हजार ७ सय नर्स कार्यरत रशेका थिए । त्यसमध्ये ७५० जनाले मात्रै एसबिए तालिम प्राप्त गरेका छन् । यो जनशक्ति सुरक्षित प्रसुतीकालागि ज्यादै न्यूनभएकाले यो वर्ष सामाजिक बिकास मन्त्रालयले २९० जना नर्सिङ् कर्मचारीलाई एसबिए तालिम प्रदान गर्दैछ । त्यस्तै १२ जना मेडिकल अफिसरहरुको लागि एड्भान्स एसबिए तालिम र ३० जनालाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरिने आपूर्ति व्यबस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले बताउनु भयो ।
यसरी तालिम प्राप्त कर्मचारीले ग्रामिण गर्भवती महिलाको मातृ र शिशुको अवस्था अध्ययन गर्ने र सामान्य प्रकृतिको भएका गर्भवतीलाई नजिकैको वर्थिक सेन्टरमा जान सल्लाह दिनेछन् भने त्यसबाहेक कुनै प्रकारको जोखिम देखिन्छ भने उनीहरुलाई सोही अनुसारको सुविधा भएको अस्पतालमा जान सल्लाह दिने निर्देशक चापागाई बताउनु भयो ।
मन्त्रालयले ग्रामिण वर्थिङ् सेन्टरलाई सुविधा सम्पन्न बनाउनकालागि ३३५ वर्थिङ् सेन्टरमा अत्यावश्यकीय ईक्युपमेन्ट प्रदान गर्ने तयारी गरेको हो । जसमा एउटा वर्थिङ् सेन्टरलाई उपलब्ध गराईने सेटमा म्याटनल डेलीभरी, वेवी वार्मर, सब्सन मेसिन सहित २६ प्रकारका उपकरण रहने छन् । त्यस्तै ग्रमािण क्षेत्रमै करिव २४ वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराउने छ । जसका माध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा र बच्चाको अवस्था पत्ता लगाउन सक्नेछन् । यो कार्यक्रम सञ्चालनकालागि पनि स्थानीय सरकार अग्रसर हुनु पर्नेछ । स्थानीय सरकारको माग र त्यस क्षेत्रको आवश्यकताको आधारमा मात्रै सम्बन्धित स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्री बरालले बताउनु भयो ।