बुटवल, २१ फागुन । सहिद यादवनाथ आलोकको स्मृतिमा बिहिबार देखि रुपन्देहीको मंगलापुरमा सञ्चालन गर्न लागिएको फुुटसल प्रतियोगिता स्थगित भएको छ । नेपाल तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा गर्न लागिएको प्रतियोगिता अर्को निर्णय नहुँदा सम्मकालागि स्थगित गरिएको तरुणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका बिरुद्ध सचेत रहन आग्रह गर्दै सभा सम्मेलन तथा कुनैपनि ठुला कार्यक्रम नगर्न नगराउन नेपाली काँग्रेसले गरेको निर्देशन अनुसार प्रतियोगिता स्थगित गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम हटे पछि पार्टीको निर्देशन अनुरुप नै अनुकुल समय पारेर प्रतियोगिता सञ्चालन गरिने तरुणदल तिलोत्तमाका सचिव होम पौडेलले जानकारी दिनुभयो ।
यसअघि बुधबार बिहान आयोजक नेपाल तरुणदल तिलोत्तमा नगर समितिले पत्रकार सम्मेलन गर्दै बिहिबारदेखि सञ्चालन गरिने प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएका थिए । सिंगो पार्टीनै कोरोना संक्रमण नेपालमा भित्रिन वा फैलन नदिन जुटिरहेका बेला तरुण दलले पनि प्रतियोगिता स्थगित गरेर पार्टीको अभियानलाई सार्थक बनाउन जनचेतना मुलका कार्यक्रमहरु गर्ने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
