बुटवल १९ फागुन
प्रदेश पाँचको सरकारले कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित गर्नुका साथै प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय गरेको छ ।
सोमवार वसेको प्रदेश पाँचको मन्त्री परिषदको बैठकले कोरोना भाईरसका कारण प्रदेश सरकारले आउदो बैशाख ४ र ५ गते गर्ने भनेको लगानी सम्मेलन हालका लागि स्थगित गर्नेनिर्णय गरेको हो ।
त्यसैगरि प्रदेश भरीका १२ वटै जिल्लामा मेला महोत्सव गर्न नपाईने गरि प्रमुख जिल्ला अधिकारी मार्फत रोक्न लगाउने निर्णय समेत गरेको बैठक पछि आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताउनु भयो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा छालारोग विशेषज्ञ डा.मनिलाल नेवार श्रेष्ठलाई खटाउने निर्णय गरेको छ । त्यस्तै प्रादेशिक साहित्य कला प्रतिष्ठानको अवधारणपत्र र विज्ञान प्रविधी प्रतिष्ठानको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेकोे छ ।
उद्योग मन्त्रालयले तयार गरेको साभेदारी नियमावलीलाई सरकारले पारित गरेको छ । भौतिक पुर्वाधार मन्त्रालयले अगाडी सारेको सडक निर्माण, मर्मत तथा विस्तार विधेयक प्रदेश सभामा पेश गर्नका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।
