भैरहवा, १८ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अबैधरुपमा साईकल र मोटरसाईकलमा राखेर नेपाल ल्याउंदै गरेको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
आज विहान करिव ५ बजे रोहिणी गाउँपालिका वडा नं ५ तेनुवामा खटिएको प्रहरी टोलीलाई देखेपछि कुखुरा ल्याउने मानिसहरु कुखुरा छाडी भागेकाले स्थानीय मानिसहरुको रोहबरमा ७ सय बोईलर कुखुरा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाईएकोमा रोहिणी खोलामा खाल्डो खनी पुरेर कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त कुखुरा प्रति गोटा २ किलोका दरले १४ सय किलोको रु ८० हजार मूल्याँकन गरिएको छ ।
