बुटवल, ९ फागुन । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
मञ्चका अध्यक्ष अर्यालका अनुसार मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मित्र मञ्चले भारतको नयाँ दिल्लीमा नेपाल भ्रमण बर्षको प्रचार प्रसार कार्यक्रम गर्ने तयारी गरेको छ । भारतमा रहेका नेपालीहरुको संस्था प्रवासी नेपाली मित्र मञ्चले महिला हिंसा विरुद्ध प्रत्येक बर्ष चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
नेपालमा गठन गरिएको त्यसैको भगिनी संस्था मानव कल्याण मित्र मञ्चले भ्रमण बर्षको प्रचार प्रसार संगै नेपालका पर्यटकीय क्षेत्रहरुलाई समेटेर बनाईएको डकुमेन्ट्रि समेत प्रदर्शन गरिने संस्थाका महासचिव गोबिन्द पोखरेलले जानकनरी गराउनु भयो ।
मञ्चको बिहिबार बुटवलमा बसेको बैठकले उक्त कार्यक्रममा भारतमा रहेका नेपालीलाई उत्साहजनक सहभागिताको लागि समेत आग्रह गरेको छ । बैठकले मञ्चको कार्यालय भवन निर्माणकालागि जग्गा व्यबस्थापन गरिदिन तिलोत्तमा नगरपालिकासंग आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै विशेष कार्यक्रमको आयोजना गरेर बुद्ध जयन्ति समारोह मनाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा मञ्चका सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, संरक्षक अम्विका अर्याल, कोषाध्यक्ष शालिकराम गौतम लगायतले मञ्चले सामाजिक क्षेत्रमा समेत रचनात्मक काम गर्नुपर्ने भनाई राख्नु भएको थियो ।
प्रवासी नेपालीहरुका समस्या समाधानका लागि भारतमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्चको भगिनी संस्था मानव कल्याण मित्र मञ्चले सहयोगि संस्थाको रुपमा काम गर्ने र अन्य सामाजिक तथा रचनात्मक काममा समेत मञ्चको सक्रिय योगदान रहने मञ्चका अध्यक्ष अर्यालले बताउनु भयो ।