आज रक्तदान भोली सांझ संघ सचिवालयमा दिपावली
बुटवल, ९ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघ स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । संघले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा संघको सचिवालय बुटवल हाटबजार स्थित बालमन्दिर परिसरमा रक्तदान गरिएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको संघका अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु, कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठ र नारायण खनालले रक्त दाताहरुलाई रगत संकलन गर्ने ब्लड व्याग हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो ।
२००९ साल फागुन १० गते स्थापना भएको बुटवल उद्योग बाणिज्य संघले ६७ औं स्थापना दिवस मनाउदै छ । स्थापना दिवस तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने तयारी संघले गरेको छ ।
स्थापना दिवसको अघिल्लो दिन संघका बिभिन्न बस्तुगत समितिद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, कार्यसमितिका सदस्य, बस्तुगत समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुक गरि ६८ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नारायण खनालले जानकारी गराउनु भयो ।
संघको स्थापना दिवसको अवसरमा भोली शनिबार साँझ संघको सचिवालय परिसरमा दीपावली गरिने कार्यक्रम छ । संघको स्थापना दिवसकै अवसरमा आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको स्थापना दिवस बिशेष कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले बताउनु भयो ।
संघको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको संघले यस पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गर्ने भएको छ । संघले तय गरेका कार्यक्रमका अलावा संघका बस्तुगत समितिहरुले स्थापना दिवसको अवसरमा अन्य विविध कार्यक्रम समेत आयोजना गरेका छन् ।