बुटवल, १२ माघ । लायन्स क्लव अफ बुटवल युथले बिपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि मकै भुट्ने (पपकर्न मेसिन) प्रदान गरेको छ । हरेक क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्दै आई रहेको क्लव र सोहि मान्यतामा क्रियाशिल क्लवका पदाधिकारीहरुले आफ्नो जन्मोत्सवमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छन् ।
सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र सहकोषाध्यक्ष कमल ज्ञवालीले आफ्नो जन्म दिनको अवसरमा दिन दुखी लाई सहयोग तथा स्वरोजगार वनाउने क्लवको उद्देश्य अनुरुप बुटवल उपमहानगरपालिका वडा नं. ५ का रघुबिर कुर्मीलाई पपकर्न मेसिन प्रदान गर्नुभएको हो ।
सामान्य मजदुरी गरेर ८ जना परिवारको पालन पोषण गर्दै आइरहेका कुर्मीको परिवारलाई स्वरोजगार बनाई पारिवारिक स्थितिलाई सहज वनाउने उद्देश्य अनुरुप आफ्नो जन्म दिनको अवसरमा बिपन्न कुर्मी परिवारलाई पपकर्न मेसिन प्रदान गरिएको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष र कोषाध्यक्षको जन्म दिनको अवसर पारेर शनिबार बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको कार्यक्रममा क्लवका अध्यक्ष श्रेष्ठ र लायन्स क्लवका मल्टिपल काउन्सिल चियरप्रसन सुनिल वझा लगायतले ३२ हजार मूल्यको पपकर्न मेसिन कुर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लवका मल्टिपल काउन्सिल चियरप्रसन वझाले विपन्न परिवारको आर्थिक अवस्था सुधारकालागि क्लवले सहयोग स्वरुप स्वरोजगारी उत्प्रेरणा गर्नेगरी पपकर्न मेसिन प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको मेसिनको सहि सदुपयोग गरि स्वरोजगार बन्न कुर्मी परिवारलाई आग्रह गर्नुभयो ।
क्वलका सचिव बिष्णु काफ्लेको सञ्चालन तथा मनमोहन गुभाजुको स्वागतमा भएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक को चिफ एड्भाईजर सुनिता बजिमय, सुरेशरत्न बज्राचार्य, डिष्ट्रिक्ट एड्भाईजर पुरुषोत्तमभक्त प्रधानाङ्ग, बलराम भट्टराई, चियर प्रसन जाकिर हुसेन, लायन्स क्लव अफ बुटवल सनसाईनका अध्यक्ष जमुना पाण्डे, रिता शर्मा, लोकनाथ पाण्डे, डम्बर न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।