बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् ।
वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको छ ।
नेपाली काँग्रेसले यस वर्ष पनि सो कार्यक्रलाई निरन्तरता दिँदै विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०७६ एवं नेपाल सम्वत ११४० लगायत समस्त नेपाली चाड पर्वहरुको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति रुपन्देहीले नेपाली चाडपर्वहरुको अवसरमा संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानको सम्वद्र्धन गर्दै शान्ति र समृद्धिको यात्रामा उत्प्रेरणा भरुन भन्ने कामना सहित आज विहान ११ बजे जिल्ला पार्टी कार्यालय भैरहवामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको पार्टी जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, पत्रकारलगायत पार्टीका भगिनी तथा शुभेक्षुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने सभापति रज्जाकले बताउनु भयो ।
कार्यक्रममा सहभागिताका लागि सबैलाई निमन्त्रणा कार्ड सहित पत्राचार र उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
यस्तै छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी, नवलपुर, पाल्पालगायतका जिल्लामा पनि नेपाली काँग्रेस जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०७६ एवं नेपाल सम्वत ११४० लगायत समस्त चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।