बुटवल, २६ असोज । बडादशैको कोजाग्रत पूर्णिमा आज धनधान्यको देवी महालक्ष्मीको पूजाआराधाना गरी सम्पन्न हुँदैछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटो र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागि आउने र जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर महालक्ष्मीको पूजाआराधाना गरिरहेको छ, उसलाई आशीवार्द दिई धनधान्यले सम्पन्न गरिदिने विश्वास गरिन्छ ।
यही विश्वासका कारण आज राति गृहिणीहरु जाग्राम बसी महालक्ष्मीको पूजाआराधाना गर्छन् । दशैको टिका कोजग्रात पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैघर र कोतहरुमा राखिएको जमरा पनि आजै विसर्जन गरिन्छ ।
माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
कोजग्रात पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म अर्थात एक महिना साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन अनुसार आजैदेखि आकाशदीप बाल्ने र कात्र्तिक स्नान सुरु गरिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिने गरिन्छ ।
