बुटवल, १९ असोज । बुटवल ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा अक्षयकोष स्थापना गरिनुका साथै भोजन कार्यक्रम गरिएको छ । आश्रममा आश्रित ३२ जना अपाङ्ग बालबालिका तथा वृद्धवृद्धालाई लक्षित गरेर सो कार्यक्रम गरिएको हो । दशैँको अष्टमीको दिन पारेर बुटवल १५ सेमलारमा रहेको श्री दुर्गा भवानी आमा समूहको आयोजना, स्थानीय क्लब तथा समाजसेवीको सहयोगमा सो कार्यक्रम गरिएको हो ।
आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नागरिक मञ्चका पूर्व अध्यक्ष वेधानिधि रिजाल, नव पञ्चरत्न युवा क्लबका अध्यक्ष जयमंगल भुसाल, समाजसेवी रामप्रसाद भुसाल, भुवन बहादुर खत्री, जोग बहादुर विक, कार्यक्रम संचालक गंगा नेपाललगायतले बोल्दै दशैंको अवसर पारेर यस्ता कार्यगर्नु सह्रानीय रहेको बताउनुभयो ।
यस्ता आश्रममा आश्रित बालबालिका तथा वृद्धवृद्धालाई हेर्ने दायित्व सरकारको भएपनि चासो नदिएकोमा दुख व्यक्त गर्दै उहांहरुले सरकार आफ्नो दायित्वबाट पन्छे पनि यस्ता संघसंस्था, समाजसेवी तथा सहयोगी भावना भएका व्यक्तिहरुले समाजका लागि राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल अपाङ्ग आश्रम वि.सं २०६७ सालमा स्थानीय डोल बहादुर रामदाम, प्रविन भुसाल र आश्रमकी सचिव विमला गौतमले बुटवल ११ स्थित होराईजन चोकमा कोठा भाडामा लिएर सुरु गर्नुभएको थियो ।
अहिले आफ्नै भवनमा संस्था संचालन गर्न पाउंदा र असहाय तथा अपाङ्ग बालबालिका तथा वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउंदा निकै हर्ष लागेको आश्रमकी सचिव विमला गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै दुर्गा भवानी आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुलीले दैनिक फजुल खर्च गर्नु र पुजा पाठ र धर्मकर्मका लागि विभिन्न मठमन्दिरमा जानुभन्दा सामाजिक कार्यमा आफुलाई सरिक गराउन सकेमा सबैभन्दा ठूलो धर्म हुने बताउनु भयो ।
सोही अवसरमा आमा समूहद्धारा आश्रममा १० हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सो रकम आमा समूहकी अध्यक्ष रमा पौडेल पराजुली र वेधानिधि रिजालले आश्रमकी सचिव विमला गौतमलाई हस्तान्तरण गर्दै आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।