काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वगृहमन्त्री समेत रहनुभएका महरालाई प्रहरीले आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । सभामुख रहेकै बेला महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै प्रहरीले पक्राउ गरेको हो ।
महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुब्र्यबहार गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । महरालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।
गएको आइतबार राती रोशनीको कोठामा गएर उनलाई यौन दुब्र्यबहार गरेको समाचार सार्वजनिक भएपछि महराले घटनाको छानविनमा सहज होस भनेर सभामुखबाट राजीनामा दिनुभएको थियो ।
पक्राउ परेका महराको बयान भने अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ ।
महरामाथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोप पुष्टि भएमा महरालाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय हुनेछ । प्रहरीका अनुसार महरा विरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ ।
