श्यामलाल पोखरेल
बुटवल, १३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले सैनामैनाको बनकट्टामा सञ्चालित बालगृहलाई सहयोग गरेको छ । प्रतिष्ठानले बालगृहमा रहेका बालवालिकालाई खाना खुवाउनुका साथै आर्थिक र शैक्षिक सामाग्री दिएर सहयोग गरेको हो ।
हिन्दुहरुको महान पर्व वडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले बालगृहलाई सहयोग गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष दीपक कार्कीको अगुवाइमा बालगृहमा रहेका १२ जना बालवालिकालाई १२ हजार नगदसहित कापी, कलम लगायतका शैक्षिक सामाग्री दिनुका साथै खाना खुवाइएको थियो ।
प्रतिष्ठानमा आवद्ध कलाकारहरुले अनाथ तथा असहाय बालवालिकाहरुको शिक्षामा थप मनोवल बढाउने गरी सहयोग गरिएको बताएका छन् ।
कलाकारहरुको काम नाच्ने र गाउने मात्र नभएर सामाजिक सेवा पनि गर्ने भएकाले बालवालिकाहरुलाई सहयोग गरिएको र आगामी दिनमा उनीहरुको आवश्यक्ता अनुसार सहयोग गरिने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै लोक दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सल्लाहाकार खेम हमालले समाजमा देखिएका हरेक समस्याहरुसंग साक्षर भएर सहयोग पुराउने मानवीय दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य प्रचण्ड जीसी, प्रदेश पाँचका अध्यक्ष डिल्लीनारायण पाण्डे, उपाध्यक्ष दीपु मगर, प्रतिष्ठान रुपन्देहीका निवर्तमान अध्यक्ष दीपक गरौजा, प्रतिष्ठानका पूर्व अध्यक्ष वलराम पौडेल, टंकप्रसाद गैरे, राधेश्याम राजभण्डारी, बालगृह सञ्चालक तिलक शाही, प्रदीप जीसीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै सामाजिक दायित्वलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका रुपन्देही अध्यक्ष दीपक कार्कीको अध्यक्षता र सचिव उज्वल गिरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिष्ठानका प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डे र रुपन्देही अध्यक्ष दीपक कार्कीले बालगृहमा रहेका बालवालिकाको शिक्षा स्वास्थ्यका लागि आर्थिक, भौतिक, नैतिक रुपले सहयोग गर्ने प्रतिवद्वता जनाउनु भएको छ ।
त्यस्तै आफ्नो जन्मउत्सवको अवसरमा लोकदोहोरी गायिका सोनम सुनार, नारायण बहादुर रायमाझी र दामोदर बस्यालले बालवालिकालाई नगद सहयोग गर्नुभएको छ ।