बुटवल, १३ असोज । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजारमा उपभोक्ताको भिड छ । बजारमा भन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तुको बिक्री वितरण भएपछि सस्तो बजारमा उपभोक्ताको भिड बढेको हो ।
दशैं सस्तो बजारमा चिनी ७२ रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिएको छ । बाहिर बजारमा चिनी प्रति किलो ८० देखि ८५ रुपैंया सम्म किनबेच भईरहेको उपभोक्ताहरुले बताएका छन् । त्यस्तै २१ रुपैंयाको नुन सस्तो बजारमा १८ रुपैयाँमा बिक्री भईरहेको छ । तेलमा प्रतिकार्टुन ५० देखि ७० रुपैयाँ सम्म छुट गरिएको छ भने बिशेष सहुलियतमा मरमसला, चिया, साबुन, सर्फ लगायतका सामान बिक्री वितरण भईरहेको छ ।
त्यसैगरी अर्गानिक रुपमा उत्पादन गरिएको छोप, अचार, मह लगायतका उपभोग्य बस्तुहरु पनि सुलभ मुल्यमा बिक्री वितरण गरिएको छ । मध्यम वर्गलाई मध्येनजर गरेर पाल्पाको लोकल कुखुरा, छपियाको माछा, अण्डा लगायत बिशेष छुटमा बिक्री वितरणको व्यबस्था गरिएको बुटवल उद्या ेग बाणिज्य संघका सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो ।
त्यस्तै दशैं सस्तो बजारमा नयाँ नोट सटही गर्नकालागि पनि सर्वसाधारणको भिड छ । नेपाल राष्ट्र बैंकको सहयोग र ग्लोवल आईएमई बैंकको समन्वयमा संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । त्यस्तै डिडिसीको दुग्धजन्य उत्पादनमा राखिएको स्टलमा पनि उपभोक्ताको उल्लेख्य भिड रहेको दशैं संस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी गराउनु भयो । डिडिसीले पनि बिशेष छुटमा आफ्ना उत्पादन बिक्री बितरण गरेको डिडिसी बुटवलका प्रमुख अयुव अली खाँले बताउनु भयो ।
१९ औं संस्करणको दशैं सस्तो बजारमा गुणस्तरीय ३० वटा स्टल राखिएको छ । घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । उहाँले उपभोक्तालाई मध्यनजर गरेर दैनिक उपभोग्य सामानको गुणस्तर र सहुलियत मुल्यमा बिक्री वितरणको व्यबस्था मिलाईएको बताउनु भयो ।
संघले सञ्चालन गरेको दशैं सस्तो बजारबाट लाभ लिनकालागि आम उपभोक्तालाई संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले आग्रह गर्नुभएको छ ।