नवलपरासी, ६ असोज । नवलपरासीको सुनवलबाट ट्याक्टर चोरी गर्ने चोरलाई नवलपरासी प्रहरीले ट्याक्टर सहित पक्राउ गरेको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम नगरपालिका १ सहुवाटिकर बस्ने २६ बर्षका जितेन्द्र मिश्रलाई पक्राउ गरेको हो ।
नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टा बस्ने सुमित्रा यादवको नाममा रहेको लु २ त ३२१४ नम्बरको ट्याक्टर गत भदौ ३१ गते चोरी भएको र खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार फेला पारेको हो ।
प्रहरीले मिश्रलाई चोरी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
