भैरहवा, ४ असोज । नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवा रुपन्देहीले रक्तदान गरेको छ ।
“एक पिन्ट रगत मेरो लागि, जीवन रक्षा आधार कसैको लागि” भन्ने मूल नारा सहित सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको समितिका अध्यक्ष भागवत प्रसाद उपाध्यायले बताउनुभयो । रक्तदान बारे जनचेतना फैलाउन समितिबाट पहिलो पटक वृहद रक्तदान कार्यक्रम गरिएको उहांले बताउनुभयो ।
समितिका पूर्व सचिव शिवलाल पौडेलले रक्तदान जीवनदान भएको बताउदै एक जनाले गरेको रक्तदानबाट ३ जना सम्म बिरामीहरुको जीवन जोगाउन सकिने बताउनुभयो ।
नियमित प्रक्रियामा पनि रगत खेर जाने भएकोले सबैलाई रक्तदानको महत्व बुझाउन समेत कार्यक्रम आयोजना गरिएको उहांले बताउनु भयो ।
रक्तदान कार्यक्रममा लेखापढि ब्यवसायी र अन्यबाट गरि २७ पोका रगत जम्मा भएको समितिका कोषाध्यक्ष अशोक प्रजापतिले जानकारी गराउनु भयो । नेपाल लेखापढि कानून ब्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाको आयोजनामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाईटी ब्लड बैंक भैरहवाको प्राविधिक सहयोग रहेको थियो ।