कपिलवस्तु, १ असोज । प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ ।
जिल्लालाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहांले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त घोषणा भए सगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त प्रदेश भएको बताउनु भयो ।
प्रदेश प्रमुख झाले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाईका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मानिसका आनिबानीमा परिर्वतन र सुधार नआएसम्म खुल्ला दिसा मुक्त भएपनि यसले पूर्णता पाउन नसक्ने भन्दै प्रदेश प्रमुख झाले आनिवानीमा परिवर्तन र सुधार गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
प्रदेश नं ५ अन्तर्गतका सबै जिल्ला यस अघि नै खुल्ला दिसा मुक्त घोषणा भैसकेका छन् । बाँकी रहेको कपिलवस्तु जिल्लालाई भदौ ३१ गते मंगलबार जिल्ला सदरमुकाम तौलिहवामा एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिए संगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त भएको छ ।
विं.सं. २०६७ साल देखि जिल्लालाई खुल्ला दिसा मुक्त गर्ने अभियान चलाइए पनि अभियानले मंगलबार मात्र सार्थकता पाएको हो ।
साविक लुम्बनी अञ्चलमा ६ जिल्ला मध्ये ५ जिल्ला संघीयता लागु नहुँदै खुल्ला दिसा मुुक्त भएपनि कपिलवस्तु खुल्ला दिसा मुुक्त घोषणा हुन सकेको थिएन । जसका कारण सिंगो लुम्बिनी अञ्चललाई नै खुला दिसा मुक्त घोषणा गर्न कपिलवस्तु बाधक बनेको थियो ।
बुद्ध भूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु मङ्गलबार खुला दिसा मुक्त जिल्ला घोषणा भए संगै सिंगो प्रदेश नै खुला दिसा मुक्त भएको छ । सरकारले मुलूकलाई २०७६ असोज १३ गते खुल्ला दिसा मुक्त घोषणा गर्दै छ । त्यसैको दबाबमा कपिलवस्तु खुल्ला दिसा मुक्त भएको सरोकारवालाले बताएका छन् ।
सरकारले सन् २०१५ भित्रै मुलूकलाई नै खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिए पनि विभिन्न कारणले त्यो पुरा हुन नसके पछि सन् २०१९ को अन्तिम समयमा आएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न थालेको हो । १० स्थानीय तह रहेको कपिलवस्तुमा सबै स्थानीय तह खुल्ला दिसा मुक्त भएसंगै सिंगो जिल्लालाई नै खुला दिसा मुक्त घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समितिका संयोजक नारायण प्रसाद खनालले १० वटा पालिका दिसा मुक्त क्षेत्र घोषणा भएकोले सो आधारमा जिल्लालाई पनि घोषणा गरिएको हो ।
जिल्ला खुल्ला दिसा मुक्त घोषणा कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्ला खुल्ला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाई तर्फ जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यस अभियानमा खट्ने दर्जनौं व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा पुर्व मन्त्री दिपकुमार उपाध्याय, दानबहादुर चौधरी, प्रदेश सभा सदस्य विष्णु पन्थी, सहसराम यादव लगातले बोल्दै अब पुर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।