बुटवल, २६ भदौ । पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघ रुपन्देहीले बिहिबार आयोजना गरेको मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन प्रथम भएको छ ।
ट्याँकर ढुवानी ब्यवसायी संघले संघ सहित नेपाल आयल निगम कर्मचारी संघ र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बिच आयोजना गरेको प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी बिशाल गैरे र बाबुराम पाठकको जोडी प्रथम भएको हो ।
तिलोत्तमा नगरपालिकाको मधौलिया स्थित कभर्डहलमा आयोजित प्रतियोगितामा पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी गैरे र पाठकले ट्याँकर ढुवानी ब्यवसायी संघका खेलाडी दिपेश शाही र जीवन पुनको जोडीलाई सोझो सेटमा पराजित गरेका हुन् ।
प्रतियोगितामा नेपाल आयल निगम कर्मचारी संघ भलवारीका खेलाडी सन्तोष रेग्मी र सुदर्शन चक्र तृतिय भएका छन् ।
मैत्रिपुर्ण ब्याडमिण्टन प्रतियोगितामा ट्याँकर ढुवानी ब्यवसायी संघ, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र नेपाल आयल निगम कर्मचारी संघ भलवारीका गरी १० टिमको सहभागिता रहेको थियो ।
ससंस्थागत सम्वन्ध सुधार, स्वास्थ्यका लागि कर्मचारी, ब्यवसायी तथा मजदुर वर्गलाई खेल प्रति रुची जगाउने तथा जागरुक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
पछिल्लो समय परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर गर्दै जानुका साथै आम मानिसको खानपान, जीवनशैली र रहनसहनमा ठूलो परिवर्तन आएको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक र शारिरीक रूपमा स्वस्थ्य रहनु धेरै आवश्यक छ । त्यसैले हाम्रो शरिरलाई चलायमान गराउन जरुरी छ । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी रहेकाले हाम्रो दैनिक जीवनमा खेलकुदको महत्वलाई दर्शाउन पनि यस्ता प्रतियोगिताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।