चितवन, ८ भदौ । आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका हरुमाथि प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यांस प्रहार गरेको हो । प्रहरीका अनुसार प्रदर्शनकारीले गरेको ढुंगा प्रहारबाट चारजना प्रहरी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्युज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजना विरुद्ध जिल्ला अदालत चिवतनमा आइतबार ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पत्रकार द्वय लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्की विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुद्दा दायर गरेको हो । उक्त मुद्दामा आइतबारबाटै अभियुक्तहरुमाथि बयान सुरु भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान सकिएको छ भने लामिछाने र कँडेलको बयान सोमबारलाई सरेको जिल्ला अदालत चितवनले जनाएको छ । कार्कीको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार दिउसो अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । पुडासैनी चितवनको एक होटलमा दुई साताअघि झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए