दाङ, ७ भदौ । दाङमा जारी मुख्यमन्त्री कप प्रदेश ५ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा रोल्पालाई शून्यका विरुद्ध तीन गोल गर्दै बर्दिया बिजयी भएको हो ।
बर्दियाको जितका लागि खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४३ औं मिनेटमा रोल्पाका खेलाडी प्रदीप डिसीले आत्मघाती गोल गरेपछि रोल्पा २–० गोल अन्तरले पछि परेको थियो । त्यसैगरी दोस्रो हाफको ६० औं मिनेटमा बर्दियाका मिलन थारुले अर्को गरेपछि बर्दिया ३–० को अन्तरले विजयी भएको हो ।
यस्तै प्रतियोगिताको दोस्रो खेलमा बाँके जिल्लाको फुटबल टिम विजयी भएको छ । बाँके र रुपन्देही जिल्लाको फुटबल टिमबीच भएको खेलमा शून्यका विरुद्ध १ गोलले बाँके विजयी भएको हो । बाँकेले पहिलो हाफको २५ औँ मिनेटमा पाएको पेनाल्टीमा खेलाडी यमबहादुर बुढाथोकीले गोल गरेका थिए । भदौ १२ सम्म चल्ने प्रतियोगिताको विजयी टिमले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
