बुटवल, ४ भदौ । लियो क्लव अफ तिलोत्तमाले ‘नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरण कार्यक्रम’ गर्ने भएको छ ।
क्लवले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर यहि भदौको ७ गते शनिबारका दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।
समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका हुने र ३० वर्ष मुनिका युवाहरुको संस्था लियो क्लवले युवा लक्षित कार्यक्रम गर्न लागेको क्लवले जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष राजन कसजुले कार्यक्रममा सहभागि भई फाईदा लिन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।
भदौ ७ गते हुने कार्यक्रममा सांसद शान्ता चौधरी, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, एस आर ग्रुपका प्रवन्ध निर्देशक सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, ब्लाईन्ड रक्सकी संस्थापक श्रृष्टि केसीले उत्प्रेरणात्मक प्रशिक्षण तथा सहजिकरण गर्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक चन्चलकुमार कार्कीले जानकारी गराउनु भयो ।
एक दिने प्रशिक्षण कार्यक्रममा लियो सदस्य, उद्यमी तथा व्यबसायी गरि ५ सय जनालाई सहभागि गराईने र सहभागिताकालागि ३० वर्ष मुनिकालाई ३५० रुपैंया तथा त्यस बाहेकलाई ५ सय रुपैंया शुल्क निर्धारण गरिएको सचिव दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गरेर बचेको रकम लायन्स क्लवले सञ्चालन गर्न लागेको क्यान्सर क्लिनिक सञ्चालनमा खर्च गरिने अध्यक्ष कसजुले बताउनु भयो ।