बुटवल । पश्चिमाञ्चल टैकर व्यवसायी संघको १७ औँ वार्षिक साधारण सभा बुधवार तिलोत्तमामा सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले टैंकर व्यवसायीहरूले भोग्दै आएका समस्या, इन्धन ढुवानीको सुरक्षा, भाडादर, बीमा, चालकहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । साथै, सरकारसँग सहकार्य गर्दै व्यवसायीको हकहित संरक्षणका लागि संघले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा उनीहरुले राखे ।
कार्यक्रममा संघका सल्लाहकार चोपनारायण श्रेठ, गाडी संचालन उपकमिटीका संयोजक प्रेम जिएमले व्यवसायीहरुले एक गाडी विस्थापित गर्दा नयां एक गाडी स्थापितको नियम बनाउन आयल निगमलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालले टैंकर व्यवसायी, चालक र डिलरहरुको फाइदा र व्यवसायको संरक्षणका लागि निगम सधै गम्भिर रहेको धारणा राख्नुभयो । व्यवसायीहरुले भनेजस्तै गरी एक गाडी विस्थापित एक स्थापित गर्दा निगमलाई समस्या नभए पनि भारतबाट आयात हुने पेट्रोलियम पदार्थको पाईपलाईनका कारण व्यवसायीहरुको गाडीले काम नपाउने हुन कि भनेर पहिलानै सजग भएको उहांको भनाइ थियो ।
संघका अध्यक्ष राकेश कुमार कशौधनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्बिनीका संयोजक प्रेम न्यौपाने र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेलगायतले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले व्यवसायीलाई थप राहात हुने गरी कार्य योजना ल्याउन सुझाव दिनुभयो ।
साधारण सभामा संघका महासचिव भुपराज अर्यालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनेन्द्र पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने व्यवसायी, चालक तथा सदस्यहरूलाई सम्मान समेत गरिएको संघले जनाएको छ ।