बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि अस्पतालमा उपचारार्थ आउने बिरामीहरुलाई उपचार सेवा दिने भएको छ ।
असोज १३ गते दशैंको फूलपातीबाट सरकारले सार्वजनिक बिदा दिए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।
अस्पतालको इमर्जेन्सी, ओपीडी, आईसीयू, एनआईसीयू, अपरेशन लगायतका सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
सरकारबाट १०० शैयाको बेड सञ्चालन अनुमति प्राप्त बुटवल हस्पिटल प्रा. लि. ले वर्षभरि ३६५ दिन सेवा प्रदान गर्ने भएकाले कुनै पनि बिरामीलाई समस्या नपर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार चाडपर्वका बेला स्वास्थ्य संस्था बन्द हुँदा धेरै बिरामीले समस्या भोग्नुपरेको विगतको अनुभवलाई आत्मसाथ गर्दै अस्पताल सधैं खुला रहनु पर्ने पक्षमा अस्पताल ब्यवस्थापन सचेत रहेको छ ।
बुटवल हस्पिटल प्रा. लि. का वरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठक हरेक वर्ष चाडपर्वमा बिरामीहरूको सेवामा निरन्तर खटिँदै आउनुभएको छ । चाड पर्वको बेला जो कोही पनि विरामी पर्न सक्ने र यस्तो अवस्थामा बिरामीको उपचार गरेर उनीहरुको ज्यान बचाउनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो सन्तुष्टिको विषय भएको डा. पाठकले बताउनुभयो ।