भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गर्दै गरेको करिव १० लाख ५६ हजार ९०८ रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोलीगढबाट लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. १० बस्ने बर्ष ४५ को प्रकाश अर्यालले अबैध रुपमा लुकाई छिपाई राखेका बिभिन्न किसिमका कस्मेटिक सामानहरु र जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ आँखा अस्पतालबाट ओमसतिया गाउँपालिका वडा न. ४ बस्ने बर्ष ३२ को मुकेश तिवारीले चलाएको लु २४ प ८९७२ नम्बरको स्कुटरमा ल्याउदै गरेको कस्मेटिक सामानहरु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया बसपार्क पछाडीबाट कष्मेटिक सामानहरु १ झोला, कुरमुरे, चिनी, सरफ, दैनिक उपभोग्यका सामानहरु ४ बोरा र टेलरिङका बकरम, इलास्टिक लगायत सामानहरु ३ बोरा बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियाबाट लु १९ प ४०२४ न.को मोटरसाइकलमा अबैध रुपमा भन्सार छलि ल्याई बेवारिसे अवस्थामा राखेको चिनी ३ बोरा, भेली १ कार्टुन मोटरसाइकल सहित बरामद गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देही र प्रहरी चौकी मेउडिहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवामा लु २४ प ६४६९ नं. को मोटरसाईकलमा वेवारिसे अवस्थामा रहेको रेडिमेट कुर्ता टप १९५ पिस, काँचो कपडा २६३ मिटर तथा प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा न. ३ बसपार्कबाट चालक भारत नौतवना बस्ने वर्ष १८ कोमरिदल आस्वानीले चलाएको लु २४ प ६४६९ नं. को मोटरसाइकल चेकजाँच गर्ने क्रममा कुर्ता सुरुवाल २७ पिस, मोटरसाइकल र मोटरसाइकलमा सवार भारत नौतवना बस्ने वर्ष १७ को राजविर राजपाल समेतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी बिट देवकोटाचोक भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १२ देवकोटा चोकबाट दैनिक उपभोग्यका सामानहरू बरामद गरेको छ ।
बरामद भएका सामान र पक्राउ परेका मानिसहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।