काठमाडौ, २१ साउन । नेपाल आयल निगमले मंगलबारराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल–मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल १०९ प्रतिलिटर तथा डिजेल र मट्टितेलमा ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) एक हजार ३७५ प्रति सिलिण्डर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन । मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो । रासस