बुटवल । आज हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशीका दिन पर्ने यो दिन तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ । आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ ।
वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ ।
निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताउनुभयो ।
तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक अधिकारीका अनुसार हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ, कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् ।
आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ ।
चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खान नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।