दाङ । एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले अबरोध गरेपछि असार १७ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गएिको हो । बजेटमा योजनाहरु कटौती गरेको भन्दै एमालेका प्रदेश सभा सदस्यहरुले बैठक अबरुद्ध गरेका हुन् ।
प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०\०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न भनेर बुधवार दिउँसो प्रदेश सभाको बाह्रांै बैठक बसेको थियो । बैठकको सुरूवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएका थिए ।
प्रदेश सभा बैठकको सुरुमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले कटौती गरिएका क्रमागत योजनाहरु बजेटमा पुनः समावेश गर्नुपर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने निर्णय सच्याउनुपर्ने माग राख्नुभएको थियो ।
आफूहरुले राखेका मागहरु सरकारले लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने प्रमुख सचेतक चौधरीले चेतावनी दिनुभयो । त्यसपछि सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि भनेर आधा घण्टा बैठक स्थगित गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेसँग सहमति हुन नसकेपछि सूचना टांसेर बैठक स्थगित गरिएको हो ।