बुटवल, १४ साउन । लुम्बिनी बौद्ध विश्वविद्यालयले विएएलएलबी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बुटवलमा यसै शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय हो ।
बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन संगै कानुन विषय लिएर कक्षा १२ पास गरेका विद्यार्थीहरु बुटवलबाहिर जानुपर्ने बाध्यता टरेको छ । यो विषय पढ्नका लागि काठमाण्डौं, पोखरा वा सुर्खेत जानुपर्ने बाध्यता थियो ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रमा ८० जना विद्यार्थी भर्ना लिने रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो । उहांका अनुसार बुटवलमा पहिलो शैक्षिक सत्रमा ८० जना विद्यार्थी पढाउने गरी बिएएलएलबीको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
विएएलएलबी कक्षा सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । पाँच वर्षे सेमेष्टर प्रणालीको यो तहमा भर्नाका लागि कानुन विषय लिएर माध्यमिक तह पास भएको हुनुपर्नेछ । कानुन विषय विज्ञको आवश्यकता भइरहेकाले त्यसको पूर्तिका लागि प्रदेश सरकार र विश्वविद्यालयले यो कार्यक्रम सञ्चालनमा ल्याएको रजिष्टार आचार्यले बताउनुभयो ।
विश्वविद्यालयको कार्यकारी परिष्द बैठकले सबै तहलाई सेमेष्टर प्रणालीमा लैजाने निर्णय समेत गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्नातकोत्तर तह स्नातक तह वार्षिक परीक्षा प्रणालीमा रहेका छन् । यसै शैक्षिक सत्रदेखि सबै कक्षाहरु सेमेष्टर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
विश्वविद्यालयले बिएएलएलबीसहित बुटवलमै स्नातक तहमा ट्राभल टुरिजम विषय अध्यापन गराइरहेको छ । यी दुबै विषयमा भर्ना खुलिसकेको बताइएको छ । त्यस्तै विश्वविद्यालयले छिट्टै नै बुटवलमै इन्टरनेशनल रिलेशन विषयको अध्यापन शुरु गर्ने तयारी गरेको छ । यो स्नातकोत्तर तहको कक्षा हो ।
