काठमाडौं, १४ साउन । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर रहेकाले मनसुनी गतिविधि कम सक्रिय भई अझै केही दिन पानी नपर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार न्यूनचापीय रेखा नेपालको तराईभन्दा दक्षिण रहेका कारण पानी पर्न अझै केही दिन लाग्ने भएको हो । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहांले भन्नुभयो, “उक्त प्रणाली नेपालसम्म आइपुग्न अझै तीन चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन ।” यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ छ । मंगलबार राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनाका साथै मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ । रासस