बुटवल, २४ जेठ । ब्रिटिस एम्बेसीको टिमले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा उद्योगी व्यवसायीहरुसंग सम्बन्धित क्षेत्रका समस्या र समाधानका विषयमा अन्तरक्रिया गरेको छ ।
मंगलबार बुटवल आएको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा अन्तरक्रिया गरेको हो ।
ब्रिटिस एम्बेसीको टिमले विशेष गरेर व्यवसायिक कृषि, पर्यटन, उत्पादनमुलक उद्योग, निर्माण तथा आईटी क्षेत्रका उद्योगी व्यवसायीसंग विकासक्रमको वर्तमान अवस्था, सरकारी नीति र सम्बन्धित क्षेत्रमा त्यसले पारेको प्रभाव, प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका सम्भावना, चुनौती र समाधानका उपायहरुका बारेमा अन्तरक्रिया गरेको हो ।
त्यस अवसरमा ब्रिटिस एम्बेसीका निर्देशक अर्थशास्त्री प्रोफेसर अडनान खानले उद्योगी व्यवसायीलाई नीतिगत रुपमा के कस्ता समस्याहरु छन् र ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले प्राप्त सुझाव तथा सल्लाहहरु सम्बन्धित ठाउँमा समाधानको लागि पहल गर्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै उद्योग व्यवसाय सञ्चालन गर्दा सरकारको नीतिका कारण उद्योगी व्यवसायी मर्कामा परेको र कतिपय नीतिहरु सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै संघका कार्यक्रम अधिकृत केशव ढकालले संघका कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराउँदै यस क्षेत्रको आर्थिक तथा व्यवसायिक अवस्था र विद्यमान नीतिहरुको बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा यु.के. ए.आई.डि. सीप परियोजनाका टिम लिडर बलाजित बोहोराले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
