आजैदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने
बुटवल, २ जेठ । नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । नेपालकै दोस्रो भैरहवा (रुपन्देही)स्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ ।
बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री देउवाले औपचारिक उद्घाटन गर्नुभएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आउनेछ । बुद्व जयन्तीका अवसरमा उद्घाटन हुन लागेको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्विको ढोकाका रूपमा हेरिएको छ ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार कुवेतबाट आउने जजिरा एयरवेज र काठमाडौँबाट आउने नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० को विमानलाई स्वागत गरेर विमानस्थलको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
महाप्रवन्धक दाहालका अनुसार करिब ७५ जना यात्रु बोकेर कुवेतबाट आउने एयर जजिराको जहाजलाई भैरहवा विमानस्थलमा स्वागत गरेर प्रधानमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा विमानस्थलको औपचारिक उद्घाटन हुनेछ । झन्डै दुई घण्टापछि १४५ यात्रु बोकेर उक्त जहाज कुवेत फर्कनेछ ।
विमानस्थल सञ्चालनमा आएसंगै अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । भैरहवास्थित विमानस्थल सन् १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा विमानस्थल निर्माण भएको हो ।
कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।