बुटवल, २७ बैशाख । बुटवलको अमरपथमा गत बैसाख १३ गते राति एक सुनचांदी पसलमा भएको चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो । चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जिशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक –२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ को मोहम्मद सारिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलिले खोजतलासको क्रममा बैशाख २६ गते साँझ लुम्बिनी साँस्कृतिक न.पा. वडा नं.–४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट युपि ३२ एल डब्लु ३१५१ वागनर गाडी चेकजाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १०÷१० ग्रामको सुनको बिस्कुट थान–२, २० ग्रामको सुनको बिस्कुट थान–१, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का थान–१, सुनको पैसाको सिक्का आकारको गोलो थान–१, मोबाईल थान–३, नगद भा.रु. १०० को नोट ६० वटा, आधार कार्ड र एटिएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई प्रहरी हिरासतमा राखी निजहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भई रहेको रेग्मीले बताए ।
