३ वर्षसम्म पनि शुरु भएन काम, धुलाम्य सडकले सुकुम्वासी बस्तीमा सास्ती
तिलोत्तमा, २७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाले वडा नम्बर १३ र १४ मा बस टर्मिनल बनाउने निर्णय ग¥यो । टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारबाट १ करोड ६६ लाख बजेट सुनिश्चित पनि भयो ।
नगरपालिकाको प्रस्तावमा संघको ७० प्रतिशत र प्रदेशको ३० प्रतिशत लगानी साझेदारीमा निर्माण हुन लागेको बसपार्क यतिबेला सम्म धुलाम्य बनेको छ । बस टर्मिनल निर्माण गरिने स्थानमा तारवार हुनुत कहांहो कहां दिनहुं त्यहिबाट खुल्लारुपमा नदी दोहोन भईरहेको छ । देशकै नमुना भनेर चिनिएको तिलोत्तमा नगरपालिकाको ग्रामीण भेगमा बस्ने सुकुम्बासी बस्तीका नागरिक धुलोले अस्वस्थ भएका छन् । बस टर्मिनल बन्न लागेको १८ बिगाहा जग्गा तिनाउ नदी उकास हो ।
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रमको बुदा नम्बर १५८ मा मेगासिटीको अवधारणा अनुसार बन्ने महानगरपालिका र मेगासिटी को लागि आवश्यक प्रादेशिक बसपार्क निर्माण गर्ने प्रस्ताव गरेको थियो । यस्तै २०७६।०७७ को बजेटमा तिलोत्तमा १३ र १४ नम्बर वार्डको टिकुलीगढमा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणका लागि आउने यात्रुलाई लक्षित गरि सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवा सहितको प्रादेशिक बस टर्मिनलको निर्माण कार्यलाई सोही वर्ष देखि अगाडि बढाउने भन्दै १ करोड बजेट विनियोजित गरिएको थियो ।
टर्मिनल बन्ने स्थानमा क्रसर उद्योग
बुटवल तथा भैरहवामा विद्यमान बसपार्कले सवारीसाधनको चाप थेग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले प्रादेशिक बस टर्मिनल निर्माण प्रस्ताव गरेको भएपनि काम शुरु नहुँदा उक्त क्षेत्र धुलाम्मे बनेको छ । बसपार्क बन्ने स्थानमा यतिबेलासम्म क्रसर उद्योगहरु रहेका छन् । यहाँ दैनिक सयबढि टिप्परहरु आहोरदोहोर गर्छन् । कच्चि बाटोमा निकै धुलो हुन्छ ।
धुलोले सुकुम्बासी समुदायमा सास्ती
उक्त क्षेत्र धुलाम्य बन्दा स्थानीयले निकै ठुलो सास्ती ब्यहोर्नु परेको बताउँछन् । तिलोत्तमा १४ का रामपुरी ताहार बस टर्मिनल बन्ने कुराले निकै खुसी लागेको भएपनि अहिले कुनै काम नभएको बताउँछन् । ‘हामी सुकुम्बासी बस्तीमा बस्ने मानिसहरु धुलो उड्ने ठाउँमा बस्नु नपर्ने भयो, बिकास हुने भयो भनेर फुरुङ्ग भयौँ ।’ उनले भने,‘यहाँ के बन्दैछ भन्ने आफुहरुलाई थाहा नभएपनि २ वर्ष पहिले नेताहरु आएको देखेर सोध्दा एउटा ठुलो मान्छेले ठुलो बसपार्क बन्छ, यहांको विकास हो है यो धुलो खानु पर्दैन भन्नु भयो हामी निकै खुसी भयौँ । तर अहिले सम्म धुलो खान बाध्य छौँ ।’
बसपार्क कहिले बन्छ ? भन्ने प्रश्न गर्दा गर्दै थाकेको बताउँछन् उनी । निधार खुम्चाउदै रामपुरीले भने, ‘नेता ज्युहरु भने चुनाव आउंदा काम गर्छौ भन्नुहुन्छ, चुनाव जितेर गएपछि सबै काम विर्सनुहुन्छ ।’ उनले आफुहरु यहाँ बिगत २० वर्षदेखि बसिरहेको बताउँदै लालपुर्जाको आशामा जिताएका एमालेका उम्मेद्वारले आफ्ना लागि केही काम नगरेको दुखेसो गरे । उनले भने, ‘अघिल्लो स्थानीय निर्वाचनमा तिलोत्तमामा एमालेले लालपुर्जा दिन्छौँ भन्यो, भोट दियौँ जितायौँ, अहिले केही छैन् । ’
तिलोत्तमा १४ कि कल्पना खत्री ५ वर्षयता यहाँको सुकुम्बासी बस्तीमा बस्छिन् । आफु आएको १ वर्षपछि बाट बसपार्क आउने कुरा आएपनि अहिलेसम्म केही काम नभएको उनले बताईन् । उनले आफ्नो घर नजिकै बसपार्क बन्ने थाहा पाउँदा निकै खुशी लागेको बताउँदै अहिलेसम्म केही काम नहुँदा धुलो खान बाध्य भएको बताईन् ।
उनले भनिन्,‘ कहिलेकाही गाडीहरु आउँछन, वसपार्क बनाउने नेताहरुको हो या क्रसर उद्योगका मालिकको हो हामीलाई थाहै छैन ।’ हुईकिएर गएको टिप्पर देखाउँदै भनिन्, ‘हेर्नुसत टिप्परको धुलोले हामीलाई कति असर गरेको छ, रुघाखोंकी लागिरहन्छ हर हप्ता, ढुंगा उछिट्टिएर घरभित्रै आउछ, यो कसैलाई वास्ता छैन । हाम्रो दुखको बारेमा बुझ्ने कोही छैन् ।’
उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा जिताएका जनप्रतिनिधिले आफुहरुको क्षेत्रमा केही काम नगरेको बताउँदै यो पटक अघिल्लो पटक जिताएका पार्टिका ब्यक्ति घरदैलोमा आउँदा पनि बाहिर ननिस्केको बताईन् ।
उनले भनिन्, ‘अहिलेत चुनाव आएको छ, जिताएका पार्टिका मान्छे अस्ति भोट माग्न आएका थिए, छोराछोरीले बाहिरबाट मम्मी बाहिर अउनु रे यहा अंकलहरु आउनु भएको छ,भन्दै बोलाए । म बाहिर निस्किन, भित्रैबाट भने, आउन देउ, यहां धुलो उडेर यस्तो भएको छ हामीलाई कुनै व्यवस्था छैन, भोट दिने बेला जसलाई दिन मन लाग्ला उसैलाई दिम्ला, भनेर फर्काई दिएं ।’
उनले कोरोनाको कालमा समेत राहतको लागि पटक पटक आग्रह गरेपनि कुनै राहत नपाएको गुनासो गरिन् । उनले आफुहरु बुढाबुढीको नाम २÷२ पटक टिपेपनि राहात नपाएको बताइन् । वडामा लाईनमा बसालेपनि कुनै राहत नदिई पराईको व्यवहार गरेको उनको गुनासो छ ।
यता बस टर्मिनल बनाउनको लागि बस्ती पनि फाल्ने हल्ला भएको बताउँदै यस्तो नगर्न आग्रह गरिन् । उनले सुकुम्बासीहरुमाथी राजनीति नगर्न आग्रह गरिन् ।
यता उनकै छिमेकी माया पौडेलले वसपार्क बन्ने हल्ला मात्रै सुनेको बताउछिन् । सुकुम्बासी क्षेत्र हुँदै जाने सडक पिच होला भन्ने आशाले बसेको बताउने उनले रोजगारीको आशा समेत राखेको बताईन् । उनले अघिल्लो पटकको सरकार हुने खानेको क्षेत्रमा मात्रै काम गर्नेको सरकार बनेकोले यो पटक मतदान गर्दा ध्यान प¥याउने बताईन् । उनले भनिन्,‘यो पटकको भोट यहाँको धुलो धुवाँ हटाएर रोजगारी प्रदान गर्नेलाई दिने हो । एकजना बाबु आउनुभएको छ । यो एकपटक उहाँलाई नै मतदान गर्ने हो ।’
उनले भनिन्,‘ बसपार्क बनाउने भनेर हल्ला फिजाइयो, वस पार्क बनेपछि बाटो पिच होला हामीले पनि रोजगारी पाउला भन्ने लागेको थियो । आस मात्रै भयो पाँच वर्ष भयो कुनै नेता आउदैनन् ।’
धुलोले गर्दा बस्नै नसक्ने अवस्था आएपनि अहिलेका मेयर बासदेव घिमिरेले केही व्यवस्थापन नगरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘यस्तो सहनै नसकिने धुलो छ, यस्तो अवस्था छ, कसैलाई हाम्रो मतलव छैन, नेताहरु यो क्षेत्रको रमिता हेर्दै दिनहु यहिं बाटो ओहोरदोहोर गरिरहन्छन् । चुनावका वेला भने झुठा आश्वासन बाड्दै भोट माग्न आउछन् लाज पचेकाहरु ।’
बस टर्मिनलमा तयार गरिएको डिजाइन
बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको थियो । बस टर्मिनलमा मर्मत सम्भारका लागि वर्कसप, एकैपटकमा २ सय ५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको थियो ।
टर्मिनलभित्र यात्रु तथा सवारी साधनका चालक छोटो समय आराम गर्न मिल्ने गरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकी रहने बताईएको थियो ।
बस टर्मिनलभित्रै यात्रुलाई किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल, गाडीहरु मर्मत सम्भारका लागि सर्भिस र मेन्टिनेन्स ब्लक, एकपटकमा १० वटासम्म गाडी मर्मतरसम्भार गर्न सक्ने गरी डिजाइन भएको थियो । साथै इन्धन भर्नका लागि टर्मिनल नजिकै पेट्रोलपम्प पनि राखिने योजना थियो ।