बुटवल, २० बैशाख । मानव अधिकार तथा शान्ति समाजले बिश्व प्रेस स्वतन्त्रता दिवसका अवशरमा बुटवलमा ‘प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा‘ बिषयक प्रदर्शन गरेको छ ।
शान्ति समाज रुपन्देहीले बुटवलको बिपिचोकमा आयोजना गरेको प्रदर्शन कार्यक्रममा समाजका केन्द्रिय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि पुर्ण प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन् । सभापति खनालले प्रेस स्वतन्त्रता, जवाफदेहिता, पारदर्शिता र कानुनी शासन समुन्नत लोकतन्त्रका प्रमुख आधारशिलाहरु रहेको उल्लेख गरे ।
सो अवसरमा समाजका सभापति खनालले मानव अधिकार, राजनैतिक स्थायित्व र दिगो शान्तिलाई लोकतन्त्रका दरिला खम्बाहरुका रुपमा स्थापित गर्न प्रेस स्वतन्त्रता आवश्यक्ता रहेको चर्चा गरे । कुनै मुलुक कति स्वतन्त्र छ भनी मापन गर्ने काम प्रेस स्वतन्त्रताबाटै हुने र जहाँ प्रेस स्वतन्त्रता प्रत्याभूत हुँदैन, त्यहाँ नागरिकका अन्य प्रकृतिका स्वतन्त्रता पनि कुण्ठित हुन्छन भन्ने विश्वास गरिन्छ सभापति खानालले भने ।
प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेले सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्दा लोकतन्त्र र सूचनाको अधिकारमा धक्का पुग्ने बताए । उनले प्रेस स्वतन्त्रता र निष्पक्षताको वकालत भइरहे पनि विश्वका बिभिन्न मुलुकमा प्रेसमाथि हस्तक्षेप नियमित रुपमा भैरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष तथा संबिधान सभा सदस्य बिनोद पहाडीले बिश्वमा सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । । नेपालमा पनि बेलाबेलामा प्रेस स्वतन्त्रामाथि कुठाराघातको प्रयास हुदै आएको उल्लेख गर्दै अध्यक्ष पहाडीले कानुन संशोधनका नाममा नागरिक तथा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयत्न भइरहेकै समेत बताए । सो अवशरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, रुपन्देही सभापति डिपि खनाल लगाएतका बक्ताले लोकतन्त्रको रक्षाका लागी प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको अपरिहार्यतामा जोड दिएका थिए ।