बुटवल, २० बैशाख । बुटवल उपमहानगरपालिका वडा नं ४ मा वडा अध्यक्ष पदका उम्मेदवार नरिश्वर शर्माले आफुले जितेमा वडामा पार्किङ सहित बजारलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पौडेलले चुनावी घरदैलोमा मतदातासंग वडालाई व्यवस्थित र सुविधायुक्त बनाउनको लागि आफू सहित आफ्नो टिमका उम्मेदवारलाई मतदान गरी विजयी वनाउन आग्रह गर्नुभएको हो ।
सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्षमा शर्मा सहित महिला सदस्य पदमा पुनम थापा, दलित महिला सदस्यमा गोमा नेपाली तथा खुल्ला सदस्य पदमा अरुणकुमार श्रेष्ठ र गफुर मिया अली उम्मेदवार हुनुहुन्छ ।
उक्त टिमले लक्ष्मी माबिमा आवश्यकता अनुसार दरवन्दी मिलान गरी विद्यालयमा सीपयुक्त शिक्षा उपलब्ध गराउने गरी स्तरबृद्धि गर्ने, कान्ति माविलाई स्नाकोत्तरसम्मको शिक्षा प्रदान गर्नेगरी क्याम्पस बनाउने र निजी बिद्यालयहरुलाई पनि सेवामुलक शिक्षण संस्थाको रुपमा बिकसित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै बुटवल बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गरिने छ ।
त्यस्तैगरी वडा नं ४ मा रहेको सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी चिकित्सक सहितको सेवा प्रदान गर्ने र जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता सो टिमको छ ।
वडाका हरेक टोलमा थ्रि फेजको विद्युत लाइन विस्तार गर्ने, बजार क्षेत्रमा विद्युत, टेलिकम, ईन्टरनेटका तारलाई दीर्घकालिन व्यवस्थापन गर्ने, शुद्ध र सफा खानेपानीको व्यवस्थापन गर्ने, ठेकेदारी प्रथाबाट चर्को शुल्कमा हुँदै आएको फोहोर उठाउने पद्धतीलाई व्यवस्थित गरी न्यूनतम शुल्कमा घरभित्र तथा सडकका फोहोर व्यवस्थापन गर्ने र वडालाई पूर्ण सरसफाईयुक्त वडा बनाउने प्रतिवद्धता गरिएको छ ।
सवारी पार्किङलाई व्यवस्थित गर्ने, आदर्शनगर लक्ष्मीनगर क्षेत्रमा नगरबस सञ्चालन गर्ने, सडक पिच नभएका क्षेत्रमा तत्काल कालोपत्रे गर्ने, आदर्शनगर, प्रगतिनगर, लक्ष्मीनगर हुँदै वडा नं ३ जोड्ने रिङरोडको लागि आवश्यक वजेट व्यवस्थापन गर्न पहल गर्ने वडा अध्यक्षका उम्मेदवार शर्माले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
त्यस्तैगरी लक्ष्मीनगर क्षेत्रमा पहिरो प्रभावितलाई अल्पकालिन रोकथाम गरी दीर्घकालिन समाधानको लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसंग पहल गर्ने, सुखौरा खोलालाई तटबन्धन गरी बस्तीलाई सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
