देबदह, १८ बैशाख । रुपन्देहीको देवदह नगरपालिकाबाट ७ थान भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । देवदह नगरपालिकाको वडा नं. ६ सटाकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आलेलाई प्रहरीले ७ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने ३२७ ग्राम बारुद, १२९ पिस सिसाको छर्रा, ७५ पिस केप र दुई थान पेचकस बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
देवदह ६ मा पर्ने पाल्पाली सामुदायिक बनबाट उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारैजना उपर हातहतियार खरखजना सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको छ ।
