तिलोत्तमा, २ वैशाख । शंकास्पद मृत्यु भएकी तिलोत्तमाकी अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा बुधबार राति २९ वर्षीया अमृताको शंकास्पद मृत्यु भएको थियो ।
तिलोत्तमाको जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति रहेको छ । प्रदर्शनमा सहभागीहरुले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।
माइती घर जानकीनगरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले बुधबार राति पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिने गरेको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।
अमृताको सात वर्षअघि प्रेमसंग प्रेम विवाह भएको थियो । उनको ५ बर्षीय छोरा छन् । बिबाहपछि घरपरिवारबाट पटकपटक यातना पाएको भन्दै अमृताले गत भदौमा वडा कार्यालयमा निवेदन दिएकी थिइन् । वडा कार्यालयमा घएको छलफलमा आइन्दा मिलेर बस्ने सहमति भएको थियो ।
मृतकका दाजु पुष्पक खत्रीका अनुसार माइतमा रहेकी अमृता ज्वाइँ प्रेम टण्डनको पटकपटकको फोनपछि बुधबार राति साढे ८ बजे घर गएकी थिइन् । घर गएपछि राति ९ बजेर ३२ मिनेटमा अमृताले दाजु पुष्पकलाई आफूलाई बचाउन र घरबाट निकाल्न भन्दै म्यासेज पठाएकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै गर्दा अमृताको मोबाइल अफ थियो ।
मृतकका दाजु पुष्पकका अनुसार १० बजेर १५ मिनेटमा प्रेमले अमृता बिरामी भएको भन्दै पुष्पकलाई अस्पतालमा बोलाएका थिए । सबै जुटेर त्यहाँ पुग्दा अस्पतालले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो ।
मंगलबार पनि अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइती पक्षलाई बोलाएका थिए । माइतीले परिवारलाई मिलेर बस्न आग्रह गर्दै फर्केका थिए । बुधबार साँझ अमृतालाई घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशंका रहेको भन्दै उनी माइतीघर गएकी थिइन् । श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी राति साढे ८ बजेतिर घर फर्केको आमा सावित्राले बताउनुभयो ।
माइती पक्षको जाहेरीपछि प्रहरीले मृतकका श्रीमान्, सासु र ससुरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।