काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो ।
त्यसपछि बुधबार बिहान राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नुभएको थियो । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो ।
नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभएको छ ।