शुद्धिकरण अभियान इभेन्ट नभई मुभमेन्ट :केन्द्रीय अध्यक्ष पोख्रेल
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा साधारणसभा एंव पुरस्कार वितरण र सम्मान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको हो ।
अधिवेशन तथा साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले पत्रकार महासंघ नागरिक समाजको अग्रणि संस्था भएकाले यसको अधिवेशन र साधारणसभामा नीतिगत बिषयमा छलफल गर्नुपर्ने बताउनुभयो । उहांले शुुद्धिकरणको अभियान कसैलाई निष्कासन तथा अपमान नभई विशुुद्ध पत्रकारिता गर्नेलाई एकिकृत बनाउनको लागि भएको बताउनुभयो । विभिन्न स्थानमा बसेर मिडिया हाउसलाइ दुरुपयोग गरेका घटनाहरु बाहिर आईरहेकोले महासंघ शुुद्धिकरण अभियान तर्फ जान बाध्य भएको उहांले बताउनुभयो । शुद्धिकरण अभियान इभेन्ट नभई मुभमेन्ट भएको बताउँदै अध्यक्ष पोख्रेलले यसबाट कसैलाई अन्याय हुन नदिने समेत बताउनुभयो । उहांले पत्रकारिता क्षेत्रको गरिमा बचाउनका लागि समेत शुद्धिकरण जरुरी भएको बताउंदै रुपन्देही शाखाले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले सदस्यता संगै सञ्चारमाध्यमका बिषयबस्तुमा पनि शुद्धिकरणमा गर्नुपर्ने बताउनुभयो । उहांले पत्रकारितामाथि आम मानिसहरुले प्रश्न गर्न थालेको भन्दै अब पेशागत मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले पत्रकारहरुले सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहांले बुटवल उपमहानगरपालिकाले सञ्चार क्षेत्रको विकासका लागि सहकार्य गर्दै अगाडि बढेको बताउंदै विकास निर्माणका सवालमा आफुहरुले काम गर्दै आइरहेको र पत्रकारिताको विकासका लागि पनि आफुहरुले सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एंव केन्द्रीय प्रतिनिधि भवानी प्रसाद पाण्डेले पत्रकारिताले आफ्नो शाख जोगाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघको तीन बर्षे कार्यकालमा राम्रै काम गरेको बताए उनुभयो । उहांले कोभिड महामारीको संकटबाट कार्यकाल शुरु भएको बताउँदै पत्रकारहरुको पेशागत सुरक्षा, हकहित र क्षमता अभिबृद्धि एंव संस्थागत विकास गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पूर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई, नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, नेकपाका रुपन्देही ईन्चार्ज शरद वली, नेकपा एकिकृत समाजवादीका रुपन्देही उपाध्यक्ष चीन बहादुर गुरुङ, नेकपा माओवादीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, महासंघका उपाध्यक्ष द्वय बिश्वास ढकाल, अमृता अनमोल र सचिव बिनोद परियार लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
उत्कृष्ट र सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार वितरण

अधिवेशन तथा साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले तीन वटा पुरस्कार वितरण गरेको छ । महासंघले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार टि.आर शर्मा र २०७९ बाट पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ । अनलाईन खबर र बुटवल टुडेमा कार्यरत पत्रकार शर्मा र बुद्ध टेलिभिजनमा कार्यरत पत्रकार ज्ञवालीलाई नगद ५०÷५० हजार राशी, प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । दुबैजनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्याल, रुपन्देही अध्यक्ष रामराज पोखरेल र प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनाल, मूल्यांकन समिति संयोजक यानेन्द्र जिसिलगायतले पुरस्कार प्रदान गर्नुभएको हो ।
यसैबीच सिद्धार्थनगर नगरपालिकाबाट स्थापित सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक घिमिरे पुरस्कृत हुनुभएको छ । घिमिरेलाई नगद ५ हजार सहित सम्मान गरिएको हो । घिमिरेलाई पनि महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, जिल्ला अध्यक्ष रामराज पोखरेल, मूल्याँकन समितिका सदस्य नरेश केसी लगायतले नगद ५ हजार सहित पुरस्कृत गर्नुभएको हो । घिमिरे खबरपात्रो अनलाईन र नेपाल टेलिभिजनमा आबद्ध छन ।
पूर्व अध्यक्षहरुलाई सम्मान

सोही अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । महासंघको संस्थागत विकासमा पूर्व अध्यक्षहरुले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, डि.आर. घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली, शेर बहादुर केसी र यानेन्द्र जिसिलाई सम्मानपत्र र दोसल्ला ओढाएर समान गरिएको हो । यसैगरी सल्लाहकार दिनेश पाण्डेय, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान
सोही अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई पनि बिशेष सम्मान गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदान स्वरुप प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, दील साहनी, अर्जुन ज्ञवाली र विनोद पहाडीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । यसैगरी अधिवेशनका अवसरमा आन्तरिक लेखा परिक्षक इश्वरी ज्ञवालीलाई नगद ५ हजार, सम्मानपत्र र कार्यालय सचिव सागर पन्थीलाई नगद ४ हजार एक सय र समान पत्रले सम्मान गरिएको छ ।
१० जनालाई मरणोपरान्त सम्मान
यसैगरि विभिन्न कारणले मृत्यू भएका १० जना पत्रकारका परिवारलाई पनि महासंघले मरणोपरान्त सम्मान गरेको छ । स्व. प्रेस स्वतन्त्रता सेनानी पं बाबुराम भट्टराई, टिकाराम न्यौपाने, डायलसन अधिकारी, हिक्मत चौधरी, बिन्दु कुमार चौहान, प्रेस स्वतन्त्रता सेनानी बसन्त पोखरेल, खेम परिश्रमी, टेक मास्की राना, सूर्य श्रेष्ठ आजाद र नर बहादुर कण्डेल (एनबि) को परिवारलाई नगद ५ हजार ५ रुपैयाँ सहित सम्मान गरिएको हो ।
यसैगरी साधारणसभाको बन्द सत्रले शनिबारै सम्पन्न भएको सचिव विनोद परियारद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय सौगातद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन व्यापक छलफल गरी सुझावसहित पारित गरिएको छ । महासंघको यो अधिवेशनमा प्रतिवेदनमाथि मात्रै छलफल भएको हो । केन्द्रीय अधिवेशन तथा साधारणसभा सकिएपछि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।