बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभाले ७ बुँदे घोषणापत्र पारित गरेको छ । शनिबार सम्पन्न भएको १२ औं अधिवेशन तथा साधारणसभाले स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरणका लागि भूमिका खेल्न प्रतिवद्धता ब्यक्त गरेको छ ।
त्यस्तै विभिन्न वहानामा विभिन्न संचारमाध्यमले पत्रकारहरुलाई जागिरबाट हटाउने, पारिश्रमिक रोक्ने, घटाउने जस्ता अप्रिय गतिविधि गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण गराउँदै यो अधिवेशन तथा साधारण सभा त्यस्ता प्रवृति तत्काल रोक्न, निकालिएका पत्रकारहरुलाई पुनर्वहाली गर्न तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको मापदण्ड अनुसार समयमै पारिश्रमिक भुक्तानी गर्न त्यस्ता संचारमाध्यमलाई जोडदार आग्रह गरेको छ ।
यस्तै सञ्चार क्षेत्रमा व्याप्त आर्थिक संकट अन्त्य गर्न सबैको योगदान जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यसका लागि उचित वातावरण र नीतिका लागि विभिन्न तहका सरकार तथा सञ्चार क्षेत्रसंग सरोकार राख्ने निकायहरुसंग आग्रह गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारहरुको तत्कालीन, दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि पत्रकार कल्याणकारि कोषलाई थप बृद्धिका लागि पहल गर्न जोड दिएको छ ।
संचार क्षेत्रमा बढ्दो विकास रफ्तारसंगै कतिपय वेथिति, आचांर संहिता उल्लंघन जस्ता गुनासाहरु सार्वजनिक हुने गरेकोप्रति चासो व्यक्त गर्दै यो अधिवेशन तथा साधारण सभा पत्रकार महासंघको मर्यादामा रहेर पत्रकारीता आचांरसंहिताको स्वपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सम्पुर्ण सदस्यहरुलाई अपिल गरेको छ । यस्तै नयाँ सूचना प्रविधि प्रयोगमा देखिएका कतिपय विकृतिहरु रोक्न पहल गर्न जरुरी रहेको ठहर गर्दै यो अधिवेशन तथा साधारण सभा त्यस्ता अत्याधुनिक माध्यमहरुको सहि सदुपयोग गरी मर्यादित पत्रकारितामा योगदान पु¥याउन अपिल गरेको छ ।
महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवालीको संयोजकत्वमा बनेको समितिले ७ बुँदे घोषणा पत्र तयार गरी बन्दसत्रमा प्रस्तुत गरिएको हो । समितिमा विक्रम खड्का, सरु राना, राम बिकास चौधरी र शंकर पाण्डेय सदस्य रहेका थिए ।