तिलोत्तमा, २४ चैत्र । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफल अन्तरक्रिया गरेको छ ।
गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो । त्यस अवसरमा सहकारीका नीति, सिद्धान्त, कार्यक्रम तथा योजनाका बारेमा जानकारी गराइएको थियो ।
त्यस अवसरमा सहयोगी बचत तथा क्रृण सहकारी संस्था र कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग छलफल गरी सहकारी एकीकरण सम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको वरिष्ठ व्यवस्थापक ज्ञवालीले जानकारी दिनुभयो ।
तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेल, सचिव निरज कंडेल, सल्लाहकार बेदप्रसाद कंडेल लगायतले सहकारीका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे र सहयोगी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गुल्मी क्षेत्रका सदस्य बाबुराम ज्ञवालीले गर्नुभएको थियो ।