तिलोत्तमा, १६ पुस । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा प्रधान कार्यालय रहेको सबैको वचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमाको वडा नंं– १७ भरबलियामा १२ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । तिलोत्तमाका ११ वटा सहकारी संस्थाहरु मर्ज भएर बनेको सबैको वचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाका १७ वटै वडामा सेवा केन्द्र विस्तार गर्ने योजना अनुसार भरबलियामा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
शुक्रबार एक कार्यक्रमबीच वडा नं १७ का अध्यक्ष दानबहादुर चौधरीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले वडामा अन्य ४–५ वटा सहकारी भएपनि शेयर सदस्यको माग र आवश्यकता अनुसार ठूलो कर्जा र अन्य सुविधा दिन नसकेको अवस्थामा सबैको सहकारीले त्यो आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सहकारीहरुले स्थानीयलाई उद्यमशील बनाउनेतर्फ ध्यान दिनुपर्नेमा अध्यक्ष चौधरीले जोड दिनुभयो । सहकारीका अध्यक्ष भरत भुसालले साना सहकारीले सदस्यको माग अनुसार कर्जा प्रवाह गर्न नसक्ने हुंदा नगरभित्रका ११ वटा सहकारीहरु एकीकृत भएर सुदृढ र बलियो सहकारी बनाएको बताउनु भयो ।
सहकारीका उपाध्यक्ष चुरामणि पाण्डे र सञ्चालक समिति सदस्य डा. मुरारी पराजुलीले तिलोत्तमा नगरपालिका औद्योगिक र ब्यापारिक हबको रुपमा विकास हुंदै गएकाले सोही अनुसार लगानी गर्न बलियो संस्थाको आवश्यकता महसुस भएको बताउनु भयो ।
संस्थाका सचिव देवानन्द पाण्डेले एकीकरणपछि सहकारीको शेयर सदस्य ५६ सय जना, शेयर पुंजी करिब १० करोड , जगेडा कोष रकम १ करोड ५० लाख र अन्य कोष करिब एक करोड पुगेको जानकारी गराउनु भयो । सहकारीको कार्य क्षेत्र तिलोत्तमासंगै सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका र ओमसतिया गाउंपालिका रहेको उहांले बताउनु भयो । सेवा केन्द्र उद्घाटनका अवसरमा स्थानीय संघसंस्थाका प्रतिनिधिले पनि शुभकामना मन्तव्य दिएका थिए ।