रुपन्देही र नवलपरासीमा गरि ४ जना बेपत्ता
नवलपरासी, १२ भदौ । बिहीबारदेखि परेको भारी वर्षाकाकारण देशका ठाउं–ठाउंमा जनधनको ठूलो क्षतिभएको छ । भारी वर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासी पश्चिममा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदिप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायवउपरीक्षक राजु लामाले बताउनुभयो । सुनवल नगरपालिका –१४ की एलिसा तामाङ बेपत्ता भएकी छन् ।
घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिनुभयो । उनीहरूको शव केहीतल खेतमा फेला परेको थियो ।
तामाङको अवस्थाभने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिनु भयो । उहाँलाई पनि बाढीले बगाएको अनुमान प्रहरीको छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षतिभएको प्रारम्भिक अनुमान छ । यसैगरी पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् ।
चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । अविरल वर्षाका कारण गएको पहिरोले पुलामीको घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्त बहादुरलाई उपचारकालागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ६ बजेतिर खोलामा दाउरा खोज्न गएका बेला लोध बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायवउपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बरका ४ बस्ने ५० वर्षिय रामेश्वर कहारलाई रोहिणी खोलाले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
