ट्राफिक लाइट लुम्बिनी प्रदेशकैं पहिलो
तिलोत्तमा, ११ जेठ । तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकैं पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
नगरकैं सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।
ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताउनुभयो । ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उहाँले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताउनुभयो । ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमैं नयाँ सन्देश दिएको बताउँदै उहाँले यो दुर्घटना न्यूनीकरणको लागि कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश ट्राफिक प्रहरीले बुटवल—भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने÷गराउने सडकको रुपमा लिएको बताउँदै उहाँले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने स्पष्ट पार्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज जिसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताउनुभयो । ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसले सहयोग पुर्याउने उहाँको भनाइ छ । नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, प्रवक्ता सुरेन्द्र श्री, योजना प्रमुख प्रदिप वनलगायतले ट्राफिक लाइटको औचित्य र सडक अनुशासनको बारेमा धारणा राख्नुभएको थियो ।