रामकुमार श्रेष्ठ
कावासोती, ११ जेठ । पूर्वी नवलपरासी नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट बिरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजन प्लाण्ट सञ्चालनमा आएको हो । जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन हुने डा. थापाले जानकारी दिनुभयो ।
अक्सिजन प्लाण्ट सञ्चालनमा आए पछि तत्कालका लागि अक्सिजन अभाव हटेको उहांले बताउनु भयो । यद्यपि अहिले अस्पतालमा रहेका विरामीका लागि अक्सिजन प्लाण्टले मात्र पुग्ने अवस्था भने नरहेको उहांले वताउनु भयो ।
जिल्ला विपत व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टलाई विस्तार गर्ने निर्णय समेत गरेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन थाले सगै विपत व्यवस्थापन सहयोग समितिले विभिन्न उद्योगबाट सिलिण्डर संकलन गरी अक्सिजन भर्ने गरेको थियो भने सहयोगी हातहरुले समेत केही थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेका थिए ।
जिल्ला अस्पतालमा प्लान्ट थप गर्नका लागि विभिन्न संघ संस्थाहरुले सहयोग गर्न चाहेमा जिल्ला अस्पतालको खातामा वा जिल्ला अस्पतालको लेखा शाखामा गएर रकम बुझाउन सकिने व्यावस्था गरिएको डा. थापाले जानकारी दिनुभयो ।
त्यसैगरी अस्पतालमा १० बेडको आइसियु सेवा पनि सञ्चालनमा आएको छ । जटिल प्रकृतिका विरामीलाई राखेर उपचार गर्ने आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियुमा अहिले २ जना संक्रमितको उपचार चलिरहेको छ ।
अस्पतालमा अक्सिजन प्लाण्ट विस्तारका लागि नगद सहयोग
मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा विस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्ने क्रम शुरु भएको छ । नवलपुरमा कोरोना संक्रमितको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा एउटा अक्सिजन प्लाष्ट सञ्चालनमा आए पनि अक्सिजन अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अक्सिजन प्लाण्ट विस्तार गर्ने नवलपुरको विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।
सोही निर्णय अनुसार आफूहरुले पनि स्थानीय स्तरबाट सहयोग संकलन गरी अस्पताललाई २ लाख ४४ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताउनु भयो । वडा अध्यक्ष श्रेष्ठले उक्त रकम अस्पतालका डा. विरबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
वडा अध्यक्ष श्रेष्ठले २७ हजार ५ सय ५५, सत्कार पौडेलले २६ हजार १ सय ११, कोषराज कार्कीले २५ हजार, ऋषिराम कंडेलले २५ हजार, विन्दु केसीले २५ हजार र गोमाया खण्डलुकले २५ हजार सहयोग गर्नुभएको छ ।
त्यसैगरी नवराज भण्डारीले २५ हजार, रिभर श्रेष्ठले २५ हजार, राजकुमार श्रेष्ठले १५ हजार, नवजीवन पुनस्थापना केन्द्र चोरमाराले १० हजार, कावासोती ३ का भानुयुथ एकेडमी र उनका पदाधिकारीबाट ११ हजार सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराएका थिए ।