तिलोत्तमा, २६ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको सदुपयोग बचत तथा ऋण सहकारी सस्थाको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ कोषबाट समायोजन गर्ने गरी संस्थाका शेयर सदस्यहरुलाई शेयर पूँजीको १० प्रतिशत वोनस उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । साधारण सभाले स्थानीय युवाहरुलाई विदेश पलायनहुनवाट रोक्न उनीहरुवाट लघुउद्यम कार्यक्रमको प्रस्ताव आएमा सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर टण्डनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा प्रस्ताव गर्नुभएको महिलाहरुलाई आत्मनिर्भर गराउने गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने, पदाधिकारी तथा कर्मचारीको क्षमता अभिबृद्धि तालिम तथा रक्तदान गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
सहकारीले कोभिड–१९ का कारण संस्थावाट ऋण लिएका शेयर सदस्यहरुको राहतका लागि ब्याज रकममा ५ प्रतिशत छुट र २०७७ मंसिर १५ सम्म हर्जाना मिनाहा गरिएको सहकारीका उपाध्यक्ष गोपाल कार्कीले जानकारी गराउनु भयो ।
साधारण सभामा सहकारीका कोषाध्यक्ष प्रकाश चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷०७८का लागि ३६ लाख ८५ हजार अनुमानित वजेट प्रस्तुत गर्नुभयो । यस्तै लेखा समिति संयोजक मुकुन्दराज कँडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्था संस्था पारदर्शी र संस्थागत रुपमा संचालन भएको र विगतका वर्षभन्दा यस वर्ष शेयर सदस्यहरुको संख्या र वचत दरमा बृद्धिभएको जानकारी गराउनु भयो ।
सहकारीका अध्यक्ष कर्णबहादुर टण्डनको अध्यक्षता र सचिव कमल अर्यालको संचालनमा भएको साधारण सभामा पत्रकार खिमानन्द भट्टराई, सल्लाहकार ईश्वरप्रसाद शर्मा, ऋण संयोजक ढकबहादुर टण्डन, कालिका अधिकारी, भिम पौडेल लगायतले वोल्दै सहकारीले लगानीका क्षेत्र वढाउंदै स्वरोजगारमुखी कार्यक्रम संचालन गर्नुपर्ने धारणा राख्नुभएको थियो । .
