बुटवल, २० मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा रहेको बताउनुभएको छ । सरकारको कमजोर गतिविधिका कारण प्रतिगामी राजाबादीहरुको सक्रियता बढेको बताउनुभयो । शनिबार रुपन्देहीमा प्रगतिशील पत्रकार संघ,नेपालका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष केसीले प्रतिगामीहरुसंग सचेत रहन आग्रह गर्नुभयो । देशभर चलिरहेको राजावादीहरुको गतिविधिलाई हल्कारुपमा लिन नहुने अध्यक्ष केसीको भनाइ छ । राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि अहिले जस्तै गतिविधिहरु संचालन गरेको स्मरण गर्दै अध्यक्ष केसीले जसको परिणामस्वरुप २०१७ पुस १ गतेको काण्ड घटेको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नुपरेको बताउनुभयो । २०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएको र ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि अध्यक्ष केसीले स्मरण गर्नुभयो । राजावादीहरुको बढिरहेको गतिविधिले २०१७ पुस १ र ०५९ माघ १९ गतेको नियति दोहोरिन सक्ने भएकाले प्रतिगामीहरुका बिरुद्व, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बताउनुभयो । उहांले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उल्लेख गर्दै नेपाली जनताले लामो समय लडेर ल्याएको गणतन्त्र बचाउनुको अर्को कुनै विकल्प छैन भन्नुभयो । वर्तमान सरकारका गलत गतिविधि जनविरोधी तथा भ्रष्ट र कुशासन क्रियाकलापहरुबाट जनतामा निरासा छाएको अध्यक्ष केसीले टिप्पणी गर्नुभयो । संघीयताका कारण देश संकटमा परिसकेको दावी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले नेपाली जनताले संघीयताको बोझलाई धान्नै नसक्ने उल्लेख गर्नुभयो ।