बुटवल ७ मंसिर
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धन गर्न भन्दैे नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने निर्णय गरेको छ ।
नगरपालिकाले गत वर्षबाट सुरु गरेको ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो ।
परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् ।
यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ ।
गर्भावस्था विशेषावस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुनेहुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम सुरु गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताउनु भयोे । कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उहाँको धारणा रहेको छ ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइ मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने उहाँले बताउनुभयो । नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमुलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्यालसियम चक्की, गर्भ जाँचलगायतका विषयमा रुजुसूचीको साथैं गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ । यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्नेगरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ ।
आइतबार मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुलाई उपहार सेट प्रदान गरी कार्यक्रमको सुभारम्भ गरिएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य नैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्य सेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
