बुटवल २४ कार्तिक
सटर भाडा सम्बन्धी टेण्डर दर्ता गर्ने क्रममा भएको बिवादका कारण बुटवल उपमहानगरपालिकामा झडप भएको छ । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा बिवाद भएपछि झडप भएको हो ।
सटर भाडा सम्बन्धी टेण्डर फारम दर्ता गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले धादली गरेको भन्दै व्यवसायीहरुले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जमा परी दुई जना व्यवसायी घाइते भएका छन् । मध्यान्ह १२ बजे सम्म टेण्डर फारम दर्ता गर्ने समय तोकिए पनि नगरपालिकाका कर्मचारीको मिलेमतोमा दिउसो २ बजे सम्म फारम दर्ता गरिएको भन्दै ब्यवसायीहरूले उपमहानगर घेराउ गरेका थिए ।
घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि झडप भएको थियो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् । मध्यान्ह १२ बजे सम्म टेण्डर फारम दर्ता गर्ने र दिउसो दुई बजे टेण्डर खोल्ने पूर्बनिर्धारित समय रहेको थियो ।
तर उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिष्णु खनाल आफै उपस्थित भएर दुई बजे सम्म फारम दर्ता गरिरहेको फेला पारेपछि आफुहरुले बिरोध गरेको सटर व्यवसायी संघका उपाध्यक्ष खुमानन्द खनाल बताउनु भयो ।
टेण्डर दर्ता गर्ने क्रममा उपमहानगरपालिकाले धादली गरेकोले दर्ता भएका टेण्डर रद्ध गरी पुनः टेण्डर खोल्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।
बुटवल उपमहानगरपालिकाका अधिकृत खनालले भने व्यवसायीहरुले आफुमाथी लगाएको आरोपमा सत्यता नभएको प्रतिक्रिया दिनु भयो ।
जालझेल गरेर उपमहानगरपालिकाले आफुहरुलाई नाङ्गै बनाउन खोजेको भन्दै केही व्यवसायीले नाङ्गै भएर प्रदर्शन गरेका थिए ।
टेण्डर खोल्ने कार्यमा व्यवसायीले अवरोध गर्न खोजेपछि झडप भएको उपमहानगरपालिकाले जनाएको छ ।
व्यवसायीहरुले नगरपालिका अगाडी बिरोध प्रदर्शन गरेपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि कम्पनी ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । शेर्पा टि कम्पनीसँग भाडामा लिएर व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दै आएका थिए । यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा सोमवार टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।
