रामकुमार श्रेष्ठ
नवलपरासी, १६ कात्तिक । पूर्वी नवलपरासीमा एकै दिन ५ जना कोभिड–१९ का संक्रमितहरुले ज्यान गुमाएका छन् । पूर्वी नवलपरासीमा गैडाकोटका २ जना, कावासोतीका २ जना र विनयी त्रिवेणीका १ जनाको निधन भएको हो ।
कावासोती ६ का ६७ बर्षीय पुरुष, कावासोती ११ का ६३ बर्षीय पुरुष, गैंडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला, गैडाकोट १३ का ३८ बर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासीक ६४ बर्षीया महिलाको निधन भएको हो । दुई जनाको होम आइसोलेसनमै र ३ जनाका चितवनमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार विहान ३ः३० बजे घरमै निधन भएको हो ।
कात्तिक १३ गते कोरोना पोजेटिभ देखिएका ति पुरुष घरकै आइसोलेसनमा उपचाररत रहेका थिए । उनको कावासोती १३ को नारायणी नदी किनार घोसरघाट देखि केही पर जलाएर शव विसर्जन गरिएको थियो ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको हो । उनको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै अन्तिम संस्कार गरेका थिए ।
मृतक दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दावी गरेका छन् । होम आइसोलेसनमा निधन भएकाहरुको नारायणी नदी किनारका घाटहरुमा जलाएर शवको व्यवस्थापन गरिएको छ भने चितवनमा निधन भएकाहरुको शव चितवनमै व्यवस्थापन गरिएको थियो ।
त्यसैगरी गैडाकोट नगरपालिका १३ का ३८ बर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा निधन भएको गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । त्यसैगरी कावासोती ११ का ६३ बर्षका पुरुषको पनि शनिबार कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा शनिबार विहान ८ बजे निधन भएको कावासोती ११ का वडा अध्यक्ष सारदा प्रसाद अधिकारीले बताउनु भयो । उनको चितवनमै दाहसंस्कार गरिएको थियो ।
सुगर, निमोनिया, दमका समेत रोगी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कात्तिक ११ गते उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । उनको १४ गते अर्थात शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको र त्यसको भोलिपल्ट शनिबार विहान ८ बजे निधन भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो । यसैगरी चितवन मेडिकल कलेजमा शनिबार नवलपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिला छिन् ।
अस्पतालका अनुसार ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भएर कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको १३ गते स्वाब परीक्षण गरिएकोमा सोही दिनै कोरोना पोजेटिभ पुष्टि भएको थियो
मिर्गौलाकी दीर्घरोगी (क्रोनिक किड्नी डिजिज) समेत भएकी उनको शनिबार बिहान ९ बजेर ३२ मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिनुभयो । उनको कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
